Logo

क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ



बारा, मंसिर १३। रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको मुख्य आरोपी सुरेन्द्र कुशवाहा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि कुशवाहालाई सार्वजनिक गरेको हो । कुशवाहालाई मोरङको विराटनगरबाट बुधबार राती ८ बजेतीर प्रहरीले पक्राउ गरेको जनाएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय, मधेस प्रदेशको कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटी गएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए।

आदर्शकोतवाल गाउपालिका वडा नं।२ खजुरीया स्थित आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा जेठ ३२ गते साँझ पाँच बजेको समयमा क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा आदर्शकोतवाल गाउपालिका वडा नं। २ घर भएका नेपाली सेनाका भगौडा वर्ष ४१ का सुरेन्द्र प्रसाद कुशवाहकसहित १७ जना व्यक्तिहरू एकिकृत भई क्याम्पस प्रमुखको गोली हानी कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरी उपरिक्षक खडकाले बताए।

पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको र बाँकी ८ जनालाई पुर्पक्षको लागि कारागार पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए।

घटनामा प्रयोग भएका हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाइकल थान – ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको प्रहरीले जनाएको छ ।

मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा कहिले भारतको विभिन्न ठाउँमा कहिले नेपालको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आइरहेका थिए । निज अभियुक्तहरूलाई ज्यान सम्बन्धि र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरीको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्