काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले उत्साह देखाएको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
उनले कीर्तिपुरको मेयर पदका लागि पार्टीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जन आफ्नो पार्टीको मात्रै नभएर सबैको साझा उम्मेद्वार भएकोले महर्जनजस्तो उम्मेद्वार पाउनु खुशीको कुरा भएको बताए । उनले महर्जन साझा उम्मेद्वार भएकोले कीर्तिपुरको मुहार फेरिने विश्वास दिलाए । मेयरका प्रत्यासी महर्जनले आफूले जिते सरकारी सेवा सुविधा नगरको विकासमा खर्चिने घोषणा गरेकोमा पनि दाहालले प्रशंसा गरे ।
उनले भने,‘कीर्तिपुरवासी साँच्चै नै भाग्यशाली हुनुहुन्छ, यस्तो उम्मेद्वार विरलै प्राप्त हुन्छ । यो अवसर कीर्तिपुरका जनताले गुम्न दिने छैनन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले पछिल्लो पटक आफूहरुले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा महाभियान चलाएको स्मरण गराए । उनले समाजमा व्याप्त विभेद, बेथिति, अन्यायको विरुद्ध आफूहरुले अभियान चलाएको पनि बताए ।
उनले भने,‘नेपालको इतिहासमा नै भ्रष्टाचारविरुद्ध सबभन्दा ठूलो अभियानको सुरुवात हामीले गर्यौं । र, त्यो अभियान सञ्चालन गर्ने क्रममा ठूला ठूला नेताहरु, ठूला कर्मचारीहरु, धेरै त्यसखालका मानिसहरु कानूनको घेराभित्र ल्याउने कोशिस गरियो, र गर्दै जाँदा त्यो भ्रष्टाचारविरोधी अभियानको तीर धेरै ठूला ठाउँमा पुग्ने भयो, तपाईंहरुलाई पक्कै थाहा होला, मैले अहिले सबै भन्न परेन । त्यो अहिले सरकारकै नेतृत्व गरेकैहरु ठाउँमा पुग्ने भयो, एकदम सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने केही कुरा छैन् । बेचन झा र प्रतिक थापा गिरफ्तार भैसकेपछि, फरार अभियुक्तहरु गिरफ्तार भैसकेपछि, भ्रष्टाचारविरोधी अभियानको सुईं कता सोझियो भन्ने कुरा तपाईंहरुले बुझिराख्नु भएकै छ । ठिक त्यसकारण संविधान मिचेर, मैले भन्ने गरेको छु यो सरकार संविधान मिचेर बनेको हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्नेमा, २ मै फर्किनु, संविधानविपरित छ । यो अलोकतान्त्रिक हो । हिन्दूस्तानमा बिजपी र कंग्रेस मिलेर सरकार बनाएका छन् ? कहिल्यै बनाएका छैनन् ।’
उनले अहिले हुने गैरहेको स्थानीय तहको ४४ ठाउँको उपनिर्वाचनलाई जनता भ्रष्टाचारको पक्षमा कि विपक्षमा भनेर फैसला गर्ने सर्वोच्च अदालतको संज्ञा दिए । उनले भने,‘नेपाली जनता भ्रष्टाचारको पक्षमा हुन सक्दैनन् । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा छन् । यो उपनिर्वाचन, हेर्दा उपनिर्वाचन भएपनि यथार्थमा भ्रष्टाचार पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह नै हो ।’