Logo

आजदेखि रविको बयान काठमाडौंमा, फेरी पोखरा हुँदै चितवन लगिने



काठमाडौं, मंसिर १४ । पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज बयान लिइँदैछ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि विहिबार काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने बताइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन लागिएको हो ।

उनीसँगै पक्राउ पूर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने काठमाडौंमा बयान सकिएपछि पोखरा लगेर त्यहाँबाट चितवन लगिनेछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका लामिछानेमाथि साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्