काठमाडौं, मंसिर १४ । सुनसरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको खनार ट्राफिक प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक रजाराम यादवले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ६ बजेतिर मृत्यु भएको यादवले बताए ।
सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ । घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक गोपाल र बबिता ससुरा-बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका(८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडी सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन् । उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
ढेड महिनाको अवधिमा इटहरीको विभिन्न क्षेत्रमा सडक दुर्घटनाका कारण छ जनाले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन् ।