Logo

हामीले ओलीलाई भारतविरोधी भनेर देखाउनसक्ने स्थिति नै छैन्, उनीसित त महाकाली सन्धीको सर्टिफिकेट छ : माओवादी नेता कार्की (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतविरोधी या अर्कोविरोधी भनेर देखाउनसक्ने स्थिति नै नभएको टिप्पणी गरेका छन् । उनले ओलीमाथि नेपाललाई नोक्शानमा पारेर भारतलाई रिझाएको आरोप लगाए ।

प्राईम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका छन् । उनले भारत, चीन र अमेरिका शक्तिशाली रहेको र आफ्नो छिमेकीहरु शक्तिशाली भएकोमा खुशी नै रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘यी शक्तिशाली राष्ट्रहरुले आफ्नो हित पहिले चाहन्छन् । त्यसैले हामीले चीन महान, भारत महान भनिरहनुपर्दैन् । नेपाल महान बन्नुपर्यो र भन्नुपर्यो । नेपालको हितमा त्यसलाई कम्प्लिेमेन्ट गर्ने नीतिहरु बनाउनुपर्यो । जहाँसम्म तपाईंको प्रश्न छ, हामीले ओलीलाई भारतविरोधी या उ विरोधी भनेर देखाउनसक्ने स्थिति नै छैन् । उनीसित त महाकाली सन्धीको सर्टिफिकेट छ । सर्टिफिकेट प्राप्त कांग्रेस र एमालेलाई हामीले भारतविरोधी पनि देखाउन सक्दैनौं । चीनविरोधी पनि बनाउन सक्दैनौं । नेपाललाई नोक्शानमा पारेर जसले रिझाएका छन्, त्यो सर्टिफिकेटको कुरा हो ।’

उनले चीन भ्रमणको सन्दर्भमा कांग्रेसले दबाबमा राख्न र तर्साउन खोजेको भन्दै धेरै नतर्सिनको लागि प्रधानमन्त्री ओलाई सल्लाह दिए । उनले भने,‘त्यस्तो प्रधानमन्त्री के प्रधानमन्त्री ? सधैं दबाबमा रहने ?

सो क्रममा उनले बीआरआईमा साझा धारणा बनाउनको लागि कांग्रेस–एमालेले बनाएको कार्यदलमा गगन थापालाई राखिएको विषयमा पनि टिप्पणी गरे । उनले भने,‘त्यो विचरा, अहिले मैले सुनिरहेको थिएँ, अलि–अलि गगन थापाको क्रेडिविलिटी थियो, त्यसलाई सिध्याईदिनको लागि त्यो गगनलाई कमिटीमा राखिदिएछन् क्या । त्यसैले कसैको दबाबमा नपरिकन नेपालको हितमा, जो हिजो हामीले घोषणा गरिसकेका छौं । समझदारी भैसकेको छ । त्यसलाई कार्यान्वयन गराउन व्यवहारिक रुपमै एउटा टाईम–फ्रेम नै बनाएर त्यो बनाउनुपर्यो । दोस्रो कुरा, हाम्रो हितलाई हेर्नुपर्यो । पहिला हाम्रो हित भनेको हतारहतारमा कमिशन र को नि के को चक्करमा एयरपोर्ट बनाउने, को नि के बनाउने ? त्यस्तो होईन । हामीले अहिलेपनि शिक्षा, स्वास्थ्यका पूर्वाधारहरु बनाउने, र ती कुरालाई विकसित गर्ने । नेपाली जनता विकसित भयो भने संसारमा कसैले रोक्न सक्दैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा यसअघि भएका समझदारी कार्यान्वयनमा जोड दिईनुपर्ने उनको सुझाव थियो । उनले भने,‘यसअघि भएका सहमति कार्यान्वयन गराउने हो, थप चीनले सदासयातापूर्वक हामीलाई सहयोग गरोस । जस्तो त्यो ऋण भनेर पैसा माग्ने अनि पछि त्यसलाई अनुदान बनाईदे भन्ने होईन । त्यो त उसको गुडविलको कुरा हो ।’ छिमेकीलाई गरिव राखेर चीन र भारत एकदमै विकसित भएको पनि नसुहाउने उल्लेख गर्दै भारत र चीनले विश्व राजनीतिमा खोजिरहेको भूमिकामा नेपालले भने सहयोग गर्ने कार्कीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्