Logo

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै, पर्सी पुनः चीन उड्ने



काठमाडौं, मंसिर १५ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । परराष्ट्र मन्त्री राणा र चिनियाँ समकक्षीबीच बीआरआई अन्तर्गत अनुदानमा कसरी कार्यक्रम सञ्चालन गर्ने र प्रधानमन्त्रीको भ्रमण कसरी सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको छ। परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी भएर पर्सी पुनः चीन उड्ने छिन् । प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्। भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्