Logo

देशभरका वडाहरुमा कहाँ-कसले गाडे झण्डा, को-कहाँ पछारिए (पूर्ण विवरण)



काठमाडौं, मंसिर १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाएका छन् । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई मत पाएको आयोगले जनाएको छ ।

यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । साह छ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन्। उनी एक हजार एक सय ५० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरेका छन्। साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाएका छन् । यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। तिवारी दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३ मत प्राप्त गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनले एक हजार एक सय सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गरे। नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण घिमिरे निर्वाचित भएका छन् ।

घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८ मत पाए ।

आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय ५५ ले मतदान गरेका थिए । जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन्। उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए ।

लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६ मत प्राप्त गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केवटका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरेका छन्।

साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । भण्डारी एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरिन । त्यहाँ कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन् । उनले छ सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । यादवले तीन सय ७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे। साथै जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३० मत प्राप्त गरेको आयोगले जनाएको छ ।

दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लालबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३ मत प्राप्त गरे।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए।

उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरे ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएका छन्। उन तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि त्यहाँ उपनिर्वाचन भएको हो । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । ओली चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।

गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन्। रानामगर चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे।

विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्