काठमाडौं, मंसिर १८ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा बसोबास गरेका फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिएका हुन्।
उनले शुभकामना सन्देशमार्फत नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् ।
“हामी एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न, उहाँहरूको अधिकारको संरक्षण गर्न र हरेक क्षेत्रमा समावेशिताका लागि प्रतिबद्ध भई अघि बढ्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवले भनेका छन्, “सबै मिलेर न्यायपूर्ण र समावेशी समाज र देशको निर्माण गर्दै सबैको सम्मान, योगदान र हकअधिकारलाई मान्यता दिन सक्नुपर्दछ ।”
सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ तारिखमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न यो दिवस मनाउने गरिन्छ । उपराष्ट्रपति यादवले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गरेका छन् ।