काठमाडौं, १८ मंसिर । साताव्यापी चीन भ्रमणका रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा हिजो भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको खनालको सचिवालयले जनँएको छ ।
छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका बरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए । उक्त छलफलमा पूर्व प्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ् सँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई) को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेका थिए ।
करिब तीन घण्टा चलेको सामुहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुएश्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया किन सुरु भयो र यो ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा विस्तृत प्रकाश पारेको खनालको सचिवालयले जनाएको छ ।
साथै उनले खुलापनको नीतिले चीनको आन्तरिक विकासको साथसाथै चीनको सम्पर्क, सम्बन्ध, सहयोग र विकासका प्रक्रियालाई कसरी विश्वव्यापी रुपमा विस्तार गर्न मद्दत गर्यो र चीनको यो खुलापनको नीतिले विश्वलाई चीनको बारेमा जान्न र चीनलाई विश्वको कुरालाई जान्न अभुतपुर्व मद्दत पुगेको कुरा छलफलको क्रममा बताए।
चिनियाँ उपप्रधानमन्त्रीले खुलापन र सुधारको नीति र आधुनिककरणको प्रक्रियाबाट चीनले हाई क्वालिटी डेभलपमेन्टलाई पुर्याइरहेको असाधारण महत्वको बारेमा विस्तारपूर्वक प्रकाश पारेका थिए । साथै विश्वव्यापी शान्तिको बारेमा समेत चीनको धारणा राखे । चीन जति शक्तिशाली बन्दै जान्छ विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिको निम्ति त्यत्तिकै बढी सक्रिय बन्दै जाने कुरामा चीन प्रतिबद्ध रहेको जानकारी गराए ।
अहिले पनि विश्वमा युद्धखोर प्रवृत्तिहरू विद्यमान छन्, ग्लोबलाइजेसनको सट्टा डीग्लोबलाइजमा उद्दत हुने, बहुध्रुवीकरणको सट्टा एक ध्रुवीय विश्वलाई कायम राख्न खोज्ने, नयाँ विश्व व्यवस्थाको माग प्रबल बनिरहेको अवस्थामा पुरानै व्यवस्था राख्नुपर्छ भनी आग्रह गर्ने प्रवृत्तिका बीचमा तीव्र अन्तरसंघर्ष चलिरहेको छ। चीन सधैं शान्तिपूर्ण विकास, शान्तिपूर्ण सह अस्तित्व, सबै पक्षको जित हुने विकास, बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्वव्यवस्थाको पक्षमा छ र रहिरहनेछ भन्ने प्रतिवद्धता पनि उपप्रधानमन्त्रीले छलफलको क्रममा बताएको खनालको सचिवालयले स्पष्ट पारेको छ ।
‘चीन सदैव साना र मझौला मुलुकहरूको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा छ। नेपाल लगायत विश्वका सबै अति कम विकसित मुलुकहरूका उत्पादनहरूलाई चीनको बजारमा करमुक्त प्रवेश गर्ने व्यवस्था गरेको छ’–खनालसँगको भेटमा उनले भने। सम्मानित नेता खनाल हिजो नै चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन ग्वाङ्झाउ पुगेका उनीसँगै भ्रमणमा रहेका विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए। डा. खतिवडाको अनुसार पूर्व प्रधानमन्त्री खनालले आज उक्त कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुनेछ। उक्त प्लेनरि सेसनको शिर्षक ‘चीनको सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू रहेको छ।