Logo

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन



हेटौँडा, मंसिर १९ । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ ।

बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् ।

सुपरिटेन्डेन्ट डा. सापकोटाले भने, ‘हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भर्नुभयो । तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।’

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने डा. सापकोटाको विश्वास छ । रासस



प्रतिक्रिया दिनुहोस्