Logo

माओवादी प्रवक्ताको प्रष्टीकरण : हामी सरकार भत्काउनतिर लागेका छैनौं



काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द) का प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु सरकार भत्काउन नलागेको स्पष्ट पारेका छन् । आज (बिहीबार) बसेको पदाधिकारी बैठकको निर्णय सुनाउने क्रममा नेता सापकोटाले आफूहरुले सरकार भत्कियोस भनेर नचाहेको सुनाए ।

उनले भने,‘हामी सरकार भत्काउनतिर लागेका छैनौं, हामी नभत्कियोस् भन्ने चाहन्छौं। सरकारको यो जनविरोधी काम, भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने कामले अराजकतावादीहरुले मौका नपाउन् भन्ने चिन्ता छ। त्यसैले हामी चाँडोभन्दा चाँडो विचार, सिद्धान्त र कार्यक्रम लिएर जानुपर्छ भन्ने तयारीमा छौं। सरकारतिरको छलफलमा छैनौं।’

उनले उपनिर्वाचनको मतपरिणामले पार्टीले आगामी निर्वाचन एक्लै लड्ने भनेर गरेको निर्णयलाई जनताले अनुमोदन गरेको निश्कर्ष सुनाए । प्रवक्ता सापकोटाले निर्णय सुनाउँदै भने,‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ, यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’



प्रतिक्रिया दिनुहोस्