काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको स्पष्ट पारेका छन् । आफ्नो चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने,‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋणसम्बन्धी कुनै कुरापनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरापनि चलेन । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गर्यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरु गर्छौं । र, त्यसको इप्लिेमेन्टेशन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होईन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्याउन नपरोस भन्ने मेरो आग्रह छ ।’
प्रधानमन्त्री ओलीले बीआरआईबारे भएको सहमति ऋण नभएको पटक पटक दोहोर्याए । उनले भने,‘ऋण होईन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन् भन्दाखेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण, ऋण, ऋण किन यो रट, सारंगी किन बज्या छ यसरी ऋणको ? होईन भनेर त हामी पटक पटक भनिराखेका छौं । सञ्चारमाध्यमहरुले पनि त्यसैगरि भन्या छन् । हाम्रो भनाईलाई क्यारी पनि गर्या छन् । त्यसकारण ऋणसँग यो सरोकार राख्दैन् । अरु कुराहरु हरेक इप्लिेमेन्टेशनमा छुट्टाछुट्टै सम्झौता हुन्छन् ।’
उनले भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा बहुत राम्रो कुराकानी भएको सुनाए । उनले भने,‘चिनियाँ राष्ट्रपतिसँगको भेटमा बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो । नेपाल र चीनबीचको मित्रताको कुरा भयो । मित्रतालाई प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता कसैको विरुद्धमा होईन हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो । यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो ।’