काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले भ्रमणको दौरान चीनसँग गरिएको सम्झौता कुनैपनि ऋणमा नभएको स्पष्टीकरण दिएका छन् ।
प्रधानमन्त्री ओली फर्किएलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा भने कांग्रेस र एमालेका नेताहरु सम्मिलित बीआरआई फ्रेमवर्क कार्यदलको बैठक जारी छ ।
कार्यदलको तर्फबाट बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र नेकपा (एमाले) बाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहेका छन्।
चीन भ्रमणको क्रममा भएको बीआरआई सम्झौतालाई लिएर नेपाली कांग्रेस रुष्ट बनेको चर्चा चलेको अवस्थामा कार्यदलको बैठक बसेको हो । यसअघिका बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवापनि सहभागी हुने गरेका थिए । तर, आज दुवै नेता सहभागी छैनन् ।