Logo

पाँच नयाँ संक्रामक रोगमध्ये तीन वटा जनावरबाट आयातित



वन्यजन्तुको संरक्षणका लागि घासे मैदान र पानीको स्रोत संरक्षण गर्न आवश्यक
चितवन । विश्वमा देखिएका नयाँ रोगहरु मध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेको अधिकारीहरुले बताएका छन्। जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तक्रिया कार्यक्रममा सहभागी अधिकारीहरुले बताए अनुसार विश्वमा करिब ७० प्रतिशत रोगहरु जनावरबाट मानिसमा सरेको छ ।

विशेषगरी पछिल्लो समय कोभिड १९, इबोला, मर्स, रेविज जस्ता संक्रामक रोगहरु जनावरबाट मानिसमा परेको हो, जसले महामारिको रुप लिएको थियो। अधिकारीहरुले बताए अनुसार पाँच नयाँ रोगहरुमध्ये तीन वटा जनावरबाट मानिसमा सरेको देखिएको छ । त्यसैले मानव, जनावार र वातावरणको एक स्वास्थ्य नीतिमा ध्यान दिन जरूरी रहेको विज्ञहरुले औल्याए।

कार्यक्रममा सरुवारोग अस्पताल टेकुका बरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा जुनोटिक डिजिजको जोखिम भएको बताए। जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक डिजिज भनिन्छ। पछिल्लो समय स्यालले टोकेका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको पुनले बताए। बिगतमा मान्छे देख्दा भाग्ने स्यालहरु अहिले हुलमा आक्रमण गर्न हिँडिरहेका छन्।

डा. पुनले पछिल्लो समय अस्पतालमा कुकुरले टोकेर आउने मानिसको संख्यामा पनि बृद्धि भएको बताए। ‘अहिले सरुवा रोग अस्पतालमा ९१ प्रतिशत मानिस कुकुरले टोकेर आउंँछन भने ५ प्रतिशत मान्छे बांँदरले टोकेर आएका छन’, उनले भने ।’ त्यस्तै पुश चिकित्सक डा. सविना मिश्रले पनि कुकुर भन्दा स्यालको जोखिम बढेको बताइन्। चीतवनमा स्याल हुल बाधेर हिँड्ने र मान्छेलाई टोक्ने गरेको उनले सुनाइन्। स्यालको टोकाइबाट रेविजको जोखिम अत्याधिक बढेका डा. मिश्रको भनाई छ ।

अध्ययनहरुले बताए अनुसार विश्वमा हरेक रात ८ करोड भन्दा बढी मानिस भोकै सुत्छन् । त्यति मात्र हैन, विश्वमा अहिले जति मासुको आवश्यकता छ, २०५० सम्ममा त्यो दर ७० पतिशतले बृद्धि हुने देखिएको छ। तर, जनावरमा देखिएको रोगका कारण उत्पादन दर २० प्रतिशतले घटिरहेको छ। अधिकारीहरुले मानव-वन्यजन्तुबीचको अन्तरद्वन्द्वलाई कम गराउँन जरुरी भएको बताएका छन्।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानिस र वन्यजन्तुको सम्बन्ध नजिक भएकाले दुवै पक्ष जोखिममा रहेको बताए। स्वास्थ्यका हिसाबले जनचेतना पुग्न जरुरी भएको उनको तर्क रहेको छ । चितवन पाल्ट्रिको समेत हब हो, जसले गर्दा वान हेल्थको अवधारणा अनुसार अगाडी बढ्न जरुरी छ।

हात्तिमा समेत मानिसमा भएको क्षयरोग पुष्टि भइसकेका कारण वन्यजन्तुका क्षेत्रमा काम गर्ने, वातावरण र कृषिमा काम गर्ने सबैलाई जोखिम न्यूनिकरणबारे जानकारी गराउँन आवश्यक भएको ढुंगानाले स्पष्ट पारे। आम नागरिकलाई सुसुचीत गराउँन नसके कुनै पनि बेला महामारिको रुप लिन सक्ने उनको बुझाइ छ। अध्यक्ष ढुंगानाले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि एक स्वास्थ्य अवधारणा महत्वपूर्ण रहेको स्पष्ट पारे।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पारे। उनले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गरे ।

पन्तले दुर्लभ बन्यजन्तुको रुपमा रहेको एकसिङ्गे गैडालगायतका अन्य वन्यजन्तुको संरक्षणका लागि घासे मैदान र पानीको स्रोत संरक्षण गर्न आवश्यक भएको बताए। जलवायु परिवर्तनले राष्ट्रिय निकुञ्जको जैविक विविधतामा समेत असर परेको बताए। उनले भने, प्लानेटरी स्वास्थको सुदृढीकरण गरी स्वस्थ इकोसिस्टम बनाउन आवश्यक छ ।

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले करिब ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको बताए। यही अवस्थामा नेपालमा महामारी भए दूलो क्षती व्यहोर्नुपर्ने बताए।

डा. सन्तोष दुलालले एक स्वास्थ्य अवधारणामा रही मावन, वन्यजन्तु बीचको अन्तरद्वन्द्व र सह-अस्तित्वको विभिन्न दृष्टिकोणबारे जानकारी गराए। राष्ट्रिय निकुञ्जको वरिपरी बसोबास गर्ने मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुको अन्तरद्वन्द्व न्यूनिकरणका विभिन्न रणनीतिहरु साथै सह अस्तित्वका आवश्यक रणनीतिहरु आवश्यक रहेको बताए।



प्रतिक्रिया दिनुहोस्