काठमाडौं, मंसिर २१ । भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक आज नेपाल आउँदैछन्। भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ट्रान्जिट भिजिटका रूपमा तिन–चार घण्टाका लागि काठमाडौंको आउन लागेका हुन् ।
भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको थियो । उनीहरु अहिले बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनीहरुले नेपालमा रहँदा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। उनीहरु त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।
भुटानी राजारानी नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलदेखि उनीहरुले भ्रमण गर्ने क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भुटानी राजदम्पतीलाई विमानस्थलमा स्वागत गर्ने बताइए पनि उक्त कुरा पुष्टि भने भएको छैन।
उनको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि धार्मिक र नितान्त व्यक्तिगत भएको बताइएको छ। गत असोजमा दशैँको घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए।
त्यति बेला सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिएको थियो। ती तस्बिरहरूमा शाहलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको पनि ती तस्बिरहरूमा देख्न सकिन्थ्यो।
भुटानले नेपालका पूर्वराजालाई ठूलो सम्मान दिएको भन्ने विषयमा सामाजिक सञ्जालहरूमा पनि चर्चा भएको थियो।
भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका थिए।