काँक्रेविहार (सुर्खेत), २१ मङ्सिर । गत वर्षको कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ ।
जाजरकोट, रुकुमपश्चिम र सल्यानका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । सरकारले यी भौतिक संरचना निर्माण गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो ।
विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा ५० लाखको संरचना निर्माण गर्ने योजना मन्त्रालयको छ । जाजरकोटमा २५ करोड विनियोजन गरिएको छभने रुकुमपश्चिममा २२ करोड र सल्यानमा तीन करोड छुट्याएको छ । जाजरकोटमा छवटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
रुकुमपश्चिममा दुईवटा पूर्ण र २२ आंशिक गरी २४ वटामा क्षति भएको छ । सल्यानमा तीनवटा पूर्ण क्षतिसहित तीनै जिल्लाका ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जाजरकोटमा एक सय ४३ र रुकुमपश्चिममा ४० वटा विद्यालय पूर्ण रूपमा क्षति भएको छ । जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको सङ्ख्या दुई सय छ र रुकुमपश्चिममा दुई सय १३ रहेका छन् । यी क्षति भएका संरचना निर्माण गर्न जिल्लाबाट सिफासि भएर आएकालाई निर्माणको व्यवस्था मिलाइएको छ ।
प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ पनि स्वीकृत गरेर दोस्रो चौमासिक लागेसँगै काममा जुटेको भौतिक पूर्वाधार तथा सहरी विकास विकासमन्त्रीका सूचना प्राविधि सहायक टेकबहादुर शाहीले जानकारी दिए ।
त्रिपाल र टेन्टमा वर्ष दिनदेखि विद्यार्थी तथा स्वास्थ्यकर्मी काम गरिरहेकाले हैरान हुँदै आएका छन् । भवन अभाव हुँदा नियमित पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा बाधा सिर्जना भएको, जिल्ला विपद् व्यवस्थापन समितिले पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान गरेको विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सम्बन्धित जिल्लाबाट छनोट भई आएकालाई मन्त्रालयले प्राथमिकताका आधारमा निर्माण गर्ने जनाएको छ ।
आयोजना छनोट गर्दा चालु आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिनेमात्र छनोट गर्नुपर्ने र संशोधन गर्न नपाइने नियम बनाएको छ । प्रदेशको भौतिक मन्त्रालय, समिति, सम्बन्धित स्थानीय तह, सम्बन्धित विद्यालय व्यवस्थापन समिति र कार्यालयले अनुगमन गर्नेछन् ।
आयोजना निर्माण सम्पन्नपछि विद्यालयको भवन सम्बन्धित स्थानीय तहको रोहवरमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई र स्वास्थ्य संस्थाको भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण हुनेछ । भौतिक संरचना निर्माण गर्न जाजरकोटमा र सल्यानमा सङ्ख्या निर्धारण गरेर मन्त्रीस्तरीय निर्णय भइसकेको छभने रुकुमपश्चिममा भने बाँकी छ । विनियोजित रकमबाट जति काम हुन्छ , सोही मात्रामा मात्र भौतिक संरचना निर्माण हुनेछन् ।
सल्यानको दार्मा गाउँपालिकामा दुईवटा विद्यालय, सिद्धकुमाखमा एक, शारदा नगरपालिकामा एक विद्यालय निर्माण गर्न छनोट गरिएको छ । त्यस्तै, कुमाख गाउँपालिकामा एक स्वास्थ्य संस्था, बागचौर गाउँपालिकामा एकवटा स्वास्थ्य संस्था निर्माण गर्न पत्राचार गरिएको छ ।
जाजरकोटको बारेकोटमा पाँचवटा विद्यालय, नलगाड नगरपालिकामा चारवटा विद्यालय, भेरी नगरपालिकामा तीनवटा, छेडागाड नगरपालिकामा चारवटा, कुशे गाउँपालिका, शिवालयमा र जुनिचाँदेमा पाँच–पाँचवटा विद्यालय निर्माण गर्न पत्राचार गरिएको छ ।
स्वास्थ्य चौकीमा बारेकोटमा दुई, नलगाडमा दुई, भेरीमा दुई, छेडागाडमा तीन र जुनिचाँदेमा दुईवटा निर्माण हुनेछन् । रुकुमपश्चिमका संरचना निर्माण गर्ने विषयमा भने निर्णय हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । रासस