Logo

राजेन्द्र लिङ्देनले औंल्याए देश भूराजनीतिको गहिरो चक्रव्यूहमा फस्ने खतरा



काठमाडौं, २१ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा बस्नेहरुको आलोकाँचो व्यवहारले देश भूराजनीतिक गहिरो चक्रव्यूहमा फस्ने खतरा औंल्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा सहमति भएको विषयमा आफ्नो धारणा राख्दै लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बीआरआईअन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसिसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको पनि भनेका छन् । प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणको क्रममा हस्ताक्षर गरिएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ ले नेपालको आन्तरिक राजनीति तातिएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले नै असन्तुष्टि पोख्न थालेका छन् ।

सार्वजनिक रुपमै कांग्रेसका नेताहरुले बीआरआईको फ्रेमवर्कमा सहमति भएको विषयलाई अब बीआरआईमार्फत नेपालमा चिनियाँ ऋणको ढोका खुलेको आशयको टिप्पणी गरेका छन् । कांग्रेस र एमालेबीचको यो असन्तुष्टि चुलिँदै जाने हो भने सत्ता गठबन्धन नै टुट्नसक्ने अवस्था सिर्जना हुने चर्चा सुरु भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्