काठमाडौँ, २१ मङ्सिर । चीन भ्रमणममा रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको हो ।
भेटवार्तामा पूर्वप्रधानमन्त्री खनालले आधुनिककरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गरे । चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुगेका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सिजीटीएन)सँग अन्तर्वार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गरेको थियो ।
पूर्वप्रधानमन्त्री खनाल यही मङ्सिर २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेकपा ९एकीकृत समाजवादी का विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए । रासस