काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा सहभागी केसीले स्वदेश फर्किएको भोलिपल्ट आज (शुक्रबार) फेशबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
बीआरआई फ्रेमवर्कमा भएको सहमति नेपालतर्फको अनुदान प्रस्तावबाट आर्थीक सहयोगमा परिणति भएको उल्लेख गर्दै उनले सहमतिको उक्त दस्तावेज हालसम्म प्राप्त नभएको पनि स्पष्ट पारेका छन् । उनले आर्थिक सहयोग भन्नाले अनुदान, ऋण, प्राविधिक सहयोग र मानवीय सहयोग सबैलाई समेटिने बताएका छन् ।
केसीले लेखेका छन्–
सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीको नेतृत्वमा छिमेकी मित्रराष्ट्र चीनको ४ दिने हाम्रो औपचारिक भ्रमण (१७-२० मंसिरमा) सफलतापूर्वक सम्पन्न भयो । दुई राष्ट्र बीच दुई पक्षिय आपसी हितका विषयमा केन्द्रित यो भ्रमण सामरिक र रणनितीक मामिला र अन्तर्राष्ट्रिय गुटगत संलग्नताबाट मुक्त रहेर हाम्रो ऐतिहासिक दुईपक्षीय सम्बन्धलाई निरन्तरता र सम्पोषण दिने दिशामा कोशेढुङ्गा (Milestone) हुनेछ भन्ने अर्थमा यसलाई सबैले बुझ्नु आवश्यक छ।
बेल्ट एण्ड रोड इनिसिएटिभ्स्’ (BRI) भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक हो ,तर त्यो मात्र भ्रमणको उद्देश्य होइन । लगभग २६ अर्ब सार्वजनिक ऋण ( कुल गार्यस्थ उदपादन को झण्डै ४४%)थेग्न नसक्ने बोझ बोकिरहेको नेपालको लागि बीआरआई थप ऋणको माध्यम नबनाउने हाम्रो BRI frame work cooperation अवधारणामा मा अन्तिम मा केही परिवर्तन भएको छ।
संयुक्त विज्ञप्ती मा नपरेको तर पछि भएको BRI सहमति नेपाल तर्फ को अनुदान प्रस्ताव बाट आर्थीक सहयोगमा परिणति भएको छ, जुन दस्तावेज हालसम्म प्राप्त भएको छैन ।
आर्थिक सहयोग भन्नाले, अनुदान, ऋण, प्राविधिक सहयोग र मानवीय सहयोग सबैलाई समेटिन्छ। यसलाई सरकारले अलग अलग आयोजनाको आधारमा आबस्यकता अनुसार निर्णय गर्छ।
तर परिलक्षित परियोजना हरुको कार्यान्वन मा तदारुकता र पूर्णता पाउन सकेमात्र यसको सार्थकता रहन्छ।
नेपालमा चिनिया लगानी बृद्धि, राजमार्ग निर्माण, नेपालको विकासमा चीनको सहभागिता, पर्यटन विकास आदि विषयमा नेपालले भ्रमणलाई महत्त्व दिएको हो । एक चीन नीति र नेपालको भूमि कुनै पनि मित्रराष्ट्र बिरुद्ध दुरुपयोग नहोस्, नेपालमा शान्ति र स्थिरता कायम होस् भन्ने दृढता नै यसको केन्द्र रह्यो ।