काठमाडौं, २१ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले विरोधसभा गर्नको लागि कुनै खुला ठाउँ नभएको भन्दै आक्रोश पोखेका छन् । उनले हिजो राजतन्त्रमा पनि विरोध तथा सभा आयोजना गर्नको लागि काठमाडौंको खुलामञ्च भएको भन्दै अहिले कुनै त्यस्तो खुला ठाउँ नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । उनले लोकतन्त्रमा दुनियाँभर विरोध सभा गर्नको लागि खुला ठाउँ हुने गरेको भन्दै नेपालमा भएको खुला ठाउँ प्रतिबन्ध गरिएकोमा असन्तुष्टि पोखेका हुन् ।
आज (शुक्रबार) एक भिडिओ सन्देश जारी गर्दै पूर्वमन्त्री साहले भने,‘हिजो राजतन्त्रमा विरोधसभा गर्न टुँडिखेल खुला थियो । तर, आज दलतन्त्रमा कुनै खुला ठाउँ छैन् । म नेताहरुलाई सोध्न चाहन्छु–तपाईंहरुको लोकतन्त्र यही हो ? अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी यसैलाई भन्छ ? आफ्नो सभा तथा जुलुश गर्न रोडमै मञ्च बनाएर गर्ने अनि आम नागरिकलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रताको लागि कुनै ठाउँ नदिने ? यो तपाईंको लोकतन्त्र राजतन्त्रभन्दापनि निकृष्ट भएन र ?’
उनले हिजो राजतन्त्रको बेलामा नेताहरुले टुँडिखेलमा निःशुल्क भाषण गर्ने गरेको स्मरण गराउँदै आज नेताहरुको विरोध गर्न जनताले कहाँ गएर गर्ने भन्दै प्रश्न तेर्साए । उनले भने,‘यस्तो लोकतन्त्रको लागि हामी पक्कै पनि लडेको थिएनौं । तपाईंले लोकतन्त्रको नाउँमा जो निकृष्टता प्रदर्शन गरिराख्नुभएको छ, जनताले यसलाई स्विकार गर्न सक्दैनन् ।’ file photo