काठमाडौं, २२ मंसिर । कांग्रेस र एमालेको सत्ता–सहकार्य ५ महिना पुग्न लागेको छ । तर, दुई दलबीचको सहकार्य लामो नजाने सकेत देखा पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चार निदे चीन भ्रमण सकेर काठमाडौं ओर्लिएकै दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग खटपट परेको छ ।
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर काठमाडौं ओर्लिएकै दिन बालुवाटारमा साँझ देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता थियो । त्यो भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारीको विषयमा छलफलको लागि थियो । छलफलमा प्रधानमन्त्री ओली तथा एमालेको तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा पूर्व कानूनमन्त्री अग्नि खरेलको नाम प्रस्ताव भएको बुझिएको छ ।
तर, खरेलको नाममा देउवाले आपत्ति जनाए । प्रचण्डले पनि देउवाले जस्तै खरेलको नाममा सहमति जनाउन नसकिने बताएपछि माहोल केही बिग्रिएको बुझिएको छ । उक्त छलफलमा देउवाले मानव अधिकारकर्मी सुदिप पाठकको नाम सिफारिश गरेका थिए । जसमा प्रचण्डले पनि समर्थन जनाएका थिए । सर्टलिष्टमा सुदीप पाठक, शेरबहादुर केसी, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, अच्युत भण्डारी, डिल्लीराज आचार्य र काशीराज दाहालको नाम सिफारिश भएको छ ।
सर्टलिष्टमा पनि सिफारिश भएका पाठकको पक्षमा देउवा र दाहालले एकस्वरले अडान लिएपछि प्रधानमन्त्री ओली झस्किएका हुन् । अर्को बैठक यही मंसिर २६ गते बस्ने भनिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको बीआरआईसम्बन्धी सम्झौताले ऋणको ढोका खोलेको भनेर कांग्रेस नेतृत्व असन्तुष्ट बनिरहेको बेलामा टिआरसी आयोगमा पदाधिकारी चयन प्रक्रियामा देउवा र दाहाल एउटै भाव र एउटै व्यक्तिको नाममा सहमत भएपछि प्रधानमन्त्री ओलीको मनमा चिसो पसेको हो ।
यद्धपी देउवाले भने चीन भ्रमण सफल भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । उनले बीआरआई फ्रेमवर्क सम्झौतापनि ऋणमा नभएर अनुदानमा भएको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका छन् ।
हिजो प्रचण्डकी नातिनीको विवाह थियो । विवाह समारोहमा प्रधानमन्त्री ओली पनि सरिक भएका थिए । त्यसअघि परराष्ट्रमन्त्री एवम् कांग्रेस सभापति देउवाकी पत्नी डा. आरजु राणापनि पुगेकी थिईन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै प्रचण्डलाई कांग्रेस र एमालेका नेताहरुले बेग्लै भाउ दिन थालेको चर्चा छ । प्रचण्डले सत्ता सहकार्य गर्नुपरे एमालेसँग भन्दापनि कांग्रेससँगै गर्ने सोच बनाएका छन् । file photo