काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर आलोचना गरेका छन् । उनले प्रधानमन्त्री ओली हिजो अहिलेको व्यवस्थाको विरोधी भएको भन्दै ओलीको दिमागमा अहिलेको व्यवस्था लागु गर्ने नरहेको आरोप लगाए । प्रचण्ड प्रधानमन्त्री ओलीविरुद्ध एकाएक आक्रामक बनेका छन् । तर, ओलीलाई प्रधानमन्त्री बनाएको नेपाली कांग्रेसप्रति भने दाहाल अस्वभाविक रूपमा नरम ढंगले पेश हुन थालेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले भने,‘संविधान बनाउने बेलामा नै अहिले सरकारमा भएका नेतृत्वमा भएका साथीहरुले हामीलाई त यो समावेशीपनि मन परेको होईन, संघीयता नै मन परेको होईन, अहिले गणतन्त्र पनि आईहालोस भनेको पनि होईन । माओवादीले आँधीहुरी ल्यायो, बाध्य भईयो, अब समर्थन गर्नैपर्यो भन्ने मान्छे अहिले प्रधानमन्त्री भएपछि उहाँको दिमागमा त यसलाई लागु गर्ने छैन् । यसलाई के गरि भाँच्ने र यसलाई के गरि विथोल्ने भन्ने हुने नै भयो । तर, जो हामी यसका पक्षधरहरु छौं, यसका पक्षधरहरुले फेरि एकताबद्ध पहल गर्दा वातावरण सकारात्मक बन्ने सम्भावना कायम नै छ ।’
प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताए ।
एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै उनले यसले वृहत एकता र धुवीकरणको बाटो फराकिलो बनाउने बताए । आज मात्रै तीन वामपन्थी दलसित एकता वार्ता भएको जानकारी दिदै उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए । नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहदै आएको बताए । अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरु शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने धारणा राखे । अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए । त्यसका लागि शिक्षकहरुले पुनःआन्दोलन गर्ने चेतावनी दिनु सही हुने उनको भनाइ छ । यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससँगै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको बताए ।