दमौली (तनहुँ), २३ मङ्सिर । जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् ।
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा भएको छ ।
अझै ५५ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आवद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताए । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध हुन नसकेको उनको भनाइ छ ।
सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएकालाई प्रथम सेवा विन्दु छ वटा रहेका छन् ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका उनले जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिए । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ ।
सरकारले बिमामा आवद्ध पाँच सदस्यलाई वार्षिक एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू गरिएको हो । रासस