Logo

गगन थापाले ०७९ को निर्वाचनमा रवि लामिछानेसँग गठबन्धन गरेर जितेको केदार कार्कीको दाबी : ‘देशभरिको निर्वाचनमा काठमाडौं–४ मा कुरूप गठबन्धन थियो’




काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापामा जसको प्रभावको कारण माथि पुगेको हो उनीहरुविरुद्ध नै लाग्ने चरित्र रहेको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

शेखर कोइराला र महामन्त्री गगन थापाबीचको सम्बन्धमा किन दरार बढ्यो त भनेर सोधिएको प्रश्नमा नेता कार्कीले भने–‘अब हेर्नुहोस एउटा कुरा के हुन्छ भने तपाईंले यो चाहीँ गिरिजाप्रसाद कोइरालाको पालादेखि उहाँको चरित्र हेर्दै आउनुभएको छ गगनजीको, त्यसकारण उहाँले गिरिजाप्रसाद कोइरालाबाट नेविसंघको महामन्त्री बन्नुभयो, गुरुजीले नेविसंघको महामन्त्री बनाउनुभयो । गुरुजीलाई नै हटाउनुपर्छ भनेर उहाँले अभियान चाल्नुभयो । गिरिजाप्रसाद कोइरालासँग डेलिगेशन लानुभयो । गिरिजाप्रसादले त्यतिवेला पार्टीले नेविसंघ चल्न सकेन भने नेविसंघको केन्द्रीय अध्यक्ष हटाएको, अध्यक्ष हटेपछि सबै हट्छ । सबै संरचना हट्छ । त्यहाँ एउटापनि केन्द्रीय सदस्यपनि रहँदैन् । तर, के भयो भने गुरु र गगन हटायो भनेर उहाँले गिरिजाबाबुको विरुद्ध कपाल काटेर अभियान चल्यो । सुजाता कोइरालाको कारण महामन्त्री बनियो होला, उहाँकै विरुद्ध लागियो । फेरि सुशिल कोइरालाले बनाउनुभयो, सुशिल कोइरालाविरुद्धपनि लागियो । फेरि रामचन्द्र पौडेलले झगडा गरेर र माया गरेर सांसद बनाउनुभयो, फेरि उहाँ रामचन्द्र पौडेललाई छोडेर कृष्णप्रसाद सिटौलाको पक्षमा लाग्नुभयो । फेरि सिटौला पक्षलाई अलमल्याउँदै अलमल्याउँदै शेखर कोइरालाको पक्षमा लाग्नुभयो । फेरि के भन्छ भने निर्वाचनमा सबैभन्दा कुरुप गठबन्धन, देशभरिको कुरुप गठबन्धन त्यो कहाँ थियो ? त्यो काठमाडौं–४ मा थियो । जहाँ रास्वपासँगसमेत गठबन्धन थियो । रास्वपाका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको, फिर्ता लिएको हेक्का रहोस । त्यो गठबन्धनको कारण मुकुल ढकालको रिपोर्टमा के छ भने अरुतिर कांग्रेसको कारण सिट बढ्यो भन्नेछ । किन रवि कांग्रेसप्रति एग्रेसिभ हुने ? कांग्रेसकै कारण सिट बढेको छ भनेर उहाँले प्रतिवेदनमा लैनुभएको छ ।’

उनले गगन थापामा जसको प्रभावको कारण माथि पुगिन्छ उसकै विरुद्धमा लाग्ने चरित्र रहेको आरोप लगाए । उनले गगन थापा शेरबहादुर देउवाको उत्तराधिकारी बन्दापनि आफूहरुलाई घाटा नहुने र यो सरोकारको विषय नभएको स्पष्ट पारे । उनले भने,‘शेखर कोइराला शेरबहादुर देउवासँग नियरेष्ट भोट ल्याएर हारेको व्यक्ति हो । गगनजीलाई टिममा राख्दा कृष्णप्रसाद सिटौलाले पनि चुनाव जित्नुभएन । शेखरले पनि जित्नुभएन । गगनलाई टिममा नराखी चुनाव लडेको शेरबहादुरजीले चुनाव जित्नुभयो ।’ कांग्रेसभित्र गाली गर्ने र गाली गर्दापनि असभ्य गाली गर्ने संस्कारको विजारोपण नै सबै गगन थापाले गरेको र उनीसँग संगत गरेका मानिसहरु भएको कार्कीको गम्भीर आरोप छ ।

उनले अहिलेको कांग्रेस र एमालेको सत्ता गठबन्धन केही नेता र लोभी–पापीहरुको लागिमात्रै ठीक ढंगले चलेको तर जनताको आवश्यकत्ता पूरा नगरेको आरोप लगाएका छन् । उनले भने,‘यो गठबन्धन केही नेता र लोभी पापीहरुको लागि मात्रै ठीक ढंगले चलेको छ, जनताको आवश्यकत्ता पूरा गरेको छैन् । यो गठबन्धनको कुरा गर्दा बीआरआईको कुरामा जनतालाई झुटो कुरा गरिएको छ । झुटको पुलिन्दालाई रंगरोदन गरेर लेश लगाएर जनतामा प्रस्तुत गर्न खोजिँदैछ । जुन कुरा जनताले थाहै पाएका छैनन् । यो सरकार सुशासनमा केन्द्रिकृत छैन् । जनताले सजिलै सेवासुविधा पाउन सकेका छैनन् । त्यसप्रति सरकार केन्द्रित भएको छैन् । कांग्रेसले सरकार सञ्चालनमा पनि ध्यान दिनुपर्यो ।’

उनले कांग्र्रेस बदनाम भैराखेर सरकारमा बस्नुको औचित्य नहुने टिप्पणी गरे । उनले कांग्रेसले आफ्नो छवि बचाउनेतर्फ ध्यान दिने बेला आएको सुझाए । उनले भने,‘र्होईन, माओवादीसँग मिल्नुपर्ने वा नमिल्नुपर्ने, वा अर्को गठबन्धन बन्ने एउटा कुरा होला । तर, कांग्रेसले आफ्नो छवि बचाउनुपर्छ । कांग्रेसको लोकतान्त्रिक चरित्रमा कमी गर्नुहुन्न ।’ कोशी प्रदेशमा पार्टीको कार्यक्रममा शेखर कोइरालालाई ह्युमिलियट गरिएपछि कोइराला अर्को जिल्लाको कार्यक्रममा सरिक भएको कार्कीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्