Logo

सरकारले प्रतिनिधिसभा धकेल्ने खोज्दैछ भन्ने सूचना छ, विशेष अधिवेशन बोलाउँछौं : प्रचण्ड



काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्को अबको अधिवेशनलाई धकेल्न खोजेको सूचना प्राप्त भएको खुलासा गरेका छन् । उनले आवश्यक पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि सदनभित्रैबाट संघर्षको सुरुवात गर्ने घोषणा गरे ।

राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसको अवसरमा आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले प्रतिनिधिसभा सकेसम्म धकेल्न बल गर्दैछ भन्ने हामीलाई सूचना प्राप्त छ। हामीले जरुरी पर्यो भने विशेष अधिवेशा बोलाएर संघर्षको सुरुवात सदनभित्रैबाट गरिनेछ । एजेण्डा सेट सदनबाट गरिनेछ । ती एजेण्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीहरुको तमाम षड्यन्त्र चकनाचुर पारिनेछ ।’

सो अवसरमा उनले एकथरीले माओवादी आन्दोलन सिद्दियो भनेर ह्युमिलियट गरेको स्मरण गराए । उनले एकथरीले माओवादीलाई एकचोटी विभाजन गर्न खोजेको पनि सुनाए । उनले भने,‘माओवादी विभाजन गरेर प्रचण्डलाई ह्युमिलियट गर्ने, षड्यन्त्र ठुलै थियो । माओवादी विभाजन गरेर प्रचण्डलाई ह्युमिलियट गरेर भाग्नपर्ने बनाउने, कतिपयले मलाई सुझाव दिए, अब सन्यास लिए हुन्छ भनेर । वैरागीजस्तो, मेरा दिन सिद्दिए भनेर भने हुन्छ भनेर सुझाव दिनेहरु पनि फेला परे । तर, मैले त १८ महिना अगाडि नै माओवादीसामू नयाँ संकल्प र अठोट गरेर हिँडेको थिएँ । सरकारबाट छोड्दै गर्दा प्रतिक्रियावादीहरुलाई चूनौति दिएर निस्किएको थिएँ । त्यही आत्मविश्वासको साथ हामी सबै प्रदेशमा गयौं । अहिले यहाँसम्म आईपुग्दा पार्टीभित्र अभूतपूर्व एकता भएको देख्छु । जनतामा हिजो हामीले गर्न खोजेको राम्रा कामहरु र अहिले एमाले नेतृत्वको सरकारले गरेका नराम्रा कामहरु दुई वटा मिलाउँदा जनताको आशा र भरोसा हामीप्रति बढेको छ ।’



प्रतिक्रिया दिनुहोस्