Logo

विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग



महोत्तरी, २६ मङ्सिर । बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

प्रतिष्ठानको सहयोगमा ३३ जना चारवर्षे र २४ जना तीनवर्षे प्राविधिक डिप्लोमा एवं नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् । आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीय विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी सोही वर्षदेखि विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गरेको हो ।

यसैगरी बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेसन स्थापना गरेर सोही वर्षदेखि सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नाका साथै २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । हालसम्म उक्त संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । हालसम्म उक्त बैंकबाट छ जना लाभान्वित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्