Logo

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा



सियोल, २६ मङ्सिर । दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेका बेला प्रहरीले बुधबार उनको कार्यालयमा छापा मारेको छ।

जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रुपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गरेका छन् ।

सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ ।

विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन ।

यसैबीच, पूर्व रक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मङ्गलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो । उनलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उनले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् ।

बुधबार उनको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ ।

किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पु¥याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो ।

पूर्व रक्षामन्त्रीले आफ्ना वकिलहरूमार्फत भनेका छन्, “यो स्थितिको सम्पूर्ण जिम्मेवारी ममाथि मात्र छ र मातहतका कर्मचारीहरूले मेरो (रक्षामन्त्री)को आदेशको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

उनलाई पूर्वगृहमन्त्री र ‘मार्शल ल’ कार्यान्ववयनको जिम्मेवारीमा रहेका जनरलसँगै यात्रा प्रतिबन्ध लगाइएको थियो ।

कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जि–हो र सियोल महानगरीय प्रहरी कार्यालयका प्रमुख किम बोङ सिकलाई पनि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

–घोषणामा के थियो –

“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई नियन्त्रणका लागि नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भनेका थिए । उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिएका थिए भने उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्