काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले बीआरआई सुशिल कोइरालाको पालामा सुरुवात भएको दाबी गरेका छन् । उनले भने,‘बीआरआई त प्रचण्डले गरेको होईन, ७ वर्ष पहिले स्वर्गीय सुशिल कोइरालाले गरेको सुरुवात हो । त्यसपछि उहाँले गर्नुभयो । त्यसपछि फ्रेमवर्कमा सिग्नेचर भएको छ । बल्ल खुल्यो यो ढोका । नेपालको विकास निर्माणको ढोका त बल्ल खुलेको हो ।’
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले अहिले सरकारबाट हट्नुपरेको पीडा पोख्न थालेको आरोप लगाए ।
उनले भने,‘उहाँको भनाईमात्रै हो, जनताले सबै कुरा बुझिसकेका छन् । कांग्रेस र एमालेसँग मिलेर पाँचै वर्ष सरकार चलाउने उहाँको योजना थियो । म मात्रै राजनीतिको खेलाडी हुँ, अरु त केही नजान्ने हो भनेर गरिरहनुभएको थियो, उहाँ त फेरि पनि सरकार चेञ्ज गर्ने खेलमा हुनुहुन्थ्यो । यो पीडा त उहाँलाई हुन्छ ।’