काठमाडौं, २७ मंसिर । जनता समाजवादी पार्टीका सचिव तथा प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा निधन भएका सिरहाको अर्नमाका ८ जना मृत्तकको परिवारलाई भेटेका छन् ।
पूर्वमन्त्री महतो हिजो (बुधबार) मृत्तकको आफन्तलाइ भेट्न अर्नमा पुगेको उनको सहयोगी रुकेश साहले जानकारी दिए । सो क्रममा महतोले मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुको साथै केही आर्थिक सहयोग गरेका थिए ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा १६ च ३१६२ नं. को स्कारपियो दुर्घटना हुँदा सिरहाको अर्नमा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका-५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादवको निधन भएको थियो ।
यस्तै, दुर्घटनामा अर्नमा-३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा-३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएका थिए । तीमध्ये केहीको अझै उपचार जारी छ ।