Logo

नेपाल प्रहरीका दश डीआइजीको सरुवा, को कहाँ?



काठमाडौं, मंसिर २८ । नेपाल प्रहरीका दश जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को सरुवा गरिएको छ। बिहीबार बसेको गृहमन्त्री स्तरीय बैठकले डीआइजीको सरुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत डीआइजी कुबेर कडायतलाई प्रहरी प्रधान कार्यालयको आइजीपीको सचिवालयमा सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआइजी रवीन्द्र केसीलाई पनि प्रहरीप्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय सरुवा गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआइजी चन्द्रकुवेर खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सरुवा गरिएको छ। प्रहरीप्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआइजी जनक भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग सरुवा गरिएको छ। त्यहाँ कार्यरत डीआइजी रामदत्त जोशीको बढुवा भएकाले रिक्त स्थानमा डिआइजी सिंहलाई सरुवा गरिएको हो।

साइबर ब्युरोमा कार्यरत डीआइजी लालमणी आचार्यलाई मधेश प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ। कर्णाली प्रदेश कार्यालयमा कार्यरत डीआइजी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यलयको अपराधन अनुसन्धान निर्देशनालय सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआइजी कुबेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ। त्यस्तै प्रहरी प्रधान कार्यायलयको विशेष ब्युरोमा कार्यरत डीआइजी मनोज केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरुवा गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआइजी राजन अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्