काठमाडौं, २८ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमालेको अहिलेको सरकार असफल भएको दाबी गरेका छन् । उनले सरकारको कामकारबाहीबाट जनता निराश बनेको आरोप लगाए । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने,”सबै हिसाबले सरकार असफल छ । सुशासनको हिसाबले पनि असफल छ । अर्थतन्त्रको हिसाबले पनि असफल छ । डेलिभरी दिने कुरामा असफल छ भन्ने कुरा त छँदैछ । तर, त्योभन्दा भयानक कुरा के हो भन्दाखेरि अन्तर्राष्टिय शक्ति सन्तुलन मिलाउनुपर्ने जुन प्रकारको कुटनीतिक सम्बन्धमा सफलता प्राप्त गर्नुपर्ने, चलाखी हुनुपर्ने त्यसमा यो सरकार पूर्ण रुपमा असफल भएको छ । यो सरकारको असफलताले देश भूराजनीतिक चक्रव्यूमा पर्दै गएको छ । गहिरो संकटतर्फ देश धकेलिने भएको छ ।” यद्धपी राप्रपा सरकार ढाल्ने खेलमा नलाग्ने उनको स्पष्टोक्ति थियो ।