काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार सरकारी प्रतिष्ठान, निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न पत्राचार गरिएको हो ।
साथै, अतिरिक्त समय काम गरेको भत्तासमेत व्यवस्था गर्न भनिएको छ । ‘स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै नर्सिङ एवम् अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्नुपर्ने,’– पत्राचारमा भनिएको छ ।
त्यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक लब्धांक पत्रहरु कार्यालयले राख्न नपाईने व्यवस्था गर्न पनि पत्राचारमार्फत भनिएको छ ।
कार्यरत स्वास्थ्यकर्मीलाई अनुभवको पत्र प्रदान गर्न र नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत भनिएको छ ।