काठमाडौं, २९ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरणमा सत्य तथ्यपूर्ण छानविन गर्दा एमाले–कांग्रेसको आधाभन्दा बढी पार्टी समाप्त हुने टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारले पूर्वाहग्र राखेर अनुसन्धान गरिराखेको पनि उनले बताए । आफूहरुको माग अनुसन्धान गर्न हुँदैन भन्ने नरहेको बताउँदै उनले तर राज्यले पूर्वाग्रह राख्न नहुने र सबैलाई निश्पक्ष छानविनको दायरामा ल्याइनुपर्ने बताए ।
नेता किरातीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतका मानिसहरुले सम्पत्तिको लागि दम्पत्ति छाड्ने परम्परा सुरु गरेको बताए । नेता किरातीले कांग्रेस–एमालेका नेताहरुमाथि सहकारी ठगी प्रकरणमा निश्पक्ष छानविन नभएको बताउँदै भने,‘सत्यतथ्यपूर्ण ढंगले सहकारी छानविन गर्ने हो भने मुख्यतः एमालेको र त्यसपछि कांग्रेसको आधाभन्दा बढी पार्टी समाप्त हुन्छ ।’
वर्तमान सरकार बनेको ‘डे वान’ देखि नै जनताले आगोमाथि बसेको महशुस गरिरहेको उनले बताए । वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम नगरेको दाबी गरे । वर्तमान सरकारले जनघात र राष्ट्रघातको पक्षमा काम गरेको उनको आरोप छ । चीन भ्रमणमा जाँदा नै प्रधानमन्त्री ओलीले जनतालाई एउटा भन्ने र काम अर्को गर्ने गरेको बताए । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा भएका सहमति जनतामाथिको विश्वासघात रहेको उनले बताए । नेता किरातीले भने, ‘जे भनेको हो त्यो काम गर्नुपर्छ । खै इमानदारिता ? खाई जनताप्रतिको विश्वास र भरोसा ?’ उनले प्रश्न गरे ।
त्यस्तै, स्थानीय तह उपनिर्वाचनले माओवादीलाई जनता नछोड भन्ने सन्देश दिएको उनले बताए । माओवादीभित्र पनि सच्चिनुपर्ने धेरै कुरा बाँकी रहेको बताउँदै उनले जनतामा माओवादीप्रति आकर्षण बढ्दै गएको बताएका छन् । माओवादीले नेतृत्व गरेको कुनै पनि सरकारले जनघात र राष्ट्रघात नगरेको उनको दाबी छ । File Photo/RN