Logo

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ: उपराष्ट्रपति यादव



काठमाडौं, २९ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । तीसौँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताए ।

काठमाडौँ महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु रहेको बताए । उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए ।

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे ।



प्रतिक्रिया दिनुहोस्