काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीमा रामकुमारी झाँक्रीसहित १७ नेताहरु मनोनित भएका छन् । हिजो (शुक्रबार) बसेको पार्टीको स्थायी समिति बैठकले १७ जना केन्द्रीय सदस्यहरुलाई स्थायी समितिमा मनोनित गरेको हो ।
मनोनित भएका नेताहरुमा झाँक्रीसहित जीवनराम श्रेष्ठ, हरिप्रसाद पराजुली, डा. विजय पौडेल, विरोध खतिवडा, डा.वंशीधर मिश्र, केशवराल श्रेष्ठ, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, कल्याणी खड्का, विश्वनाथ प्याकुरेल, लक्ष्मण पौडेल, रामचन्द्र झा, रामचन्द्र यादव, साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह र शत्रुधन महतो रहेका छन् ।
पार्टीको गत महाधिवेशनपछि असन्तुष्ट रहेका नेताहरुलाई अध्यक्ष माधव कुमार नेपालले स्थायी कमिटीमा ल्याएर व्यवस्थापन गरेका हुन् । पार्टीको १०औं महाधिवेशनमा पराजित भएका एकीकृत समाजवादीका केही नेताहरुमा निराशा र आक्रोश बढ्दो छ । विवादका बीच कार्यविभाजन टुङ्गोमा नपुग्दा महाधिवेशनबाट निर्वाचित नेतृत्वले बेकामे भएर बस्नुपरेको छ ।
पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार आज पनि स्थायी कमिटीको बैठक जारी छ। कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरिरहेको उनले बताए ।
अब अध्यक्ष, वरिष्ट नेता, उपाध्यक्षहरु र महासचिवलगायतले आफ्ना विचार राख्ने बाँकी रहेको उनले बताए । नेता खतिवडाका अनुसारअरु पदाधिकारीहरुले आफ्ना धारणा राखिसकेका छन् ।
बैठक भोलिसम्म चल्ने र पार्टीका नीतिको प्रचार गर्ने, पार्टी सुदृढीकरण गर्ने, राजनीतिक तथा भूराजनीतिक चुनौतिहरुको सामना गर्नेलगायतका विषयमा छलफल भइरहेको पनि उनले बताए । File Photo