काठमाडौँ, २९ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिक साधारण सभामा उनले अस्थिर राजनीतिको प्रतिछायाँलेअर्थतन्त्र ओझेलमा परेको बताएका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।
‘राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ,’– उनले भने ।
खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताए । उनले दूग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिईने पनि जानकारी गराए ।