काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको गृहकार्य थालेका छन् । चीन भ्रमणबाट फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गरेको कुरा सार्वजनिक रुपमै खुलासा गरेका थिए । उनले गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा आफू छिट्टै भारत जान लागेको बताएका थिए । ‘धेरैले पत्याएका छैनन्, म छिट्टै भारत भ्रमणमा जाँदैछु’–उनको भनाई थियो ।
प्रधानमन्त्री ओली चीन जानुअघि भारत भ्रमणको निम्ता नपाएपछि उत्तरतर्फ जान लागेको भनेर टिकाटिप्पणी भएको थियो । प्रधानमन्त्री ओलीले भने जताबाट पहिला निम्तो आउँछ उतै जाने हो भन्दै आफू सबैसँग सन्तुलित सम्बन्ध राखेर नै अघि बढ्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुषभित्रै भारत भ्रमण गर्नेगरि तयारी थालेका छन् । त्यसको लागि उनले परराष्ट्रमन्त्री डा. आरजु राणालाई भ्रमणको चाँजोपाँजो मिलाउन भनेका छन् । मन्त्री राणा यतिवेला युरोप भ्रमणमा छिन् ।
उनी युरोपबाट सिधै भारत ओर्लिने तय भएको छ । मन्त्री राणा आर्थिक सम्मेलनमा भाग लिनको लागि त्यता जाने भनिएकोमा उनी युरोप हुँदै उतैबाट नयाँ दिल्ली ओर्लिने तय भएको छ । उनी भारत भ्रमणमा रहेको बेलामा प्रधानमन्त्री ओलीको भ्रमणको लागि भारतीय उच्च अधिकारीहरुसँग आग्रह गर्ने बुझिएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले पनि प्रधानमन्त्री ओलीको छिट्टै भारत भ्रमण हुने दाबी गरेका छन् । file photo