काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अदालतको आदेशले जिल्ला–जिल्लामा घुमाइएको बताएका छन् । आज (आइतबार) नेपाल प्रेस युनियन पर्सा शाखाले विरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालतले आदेश दिएबमोजिम लामिछानेलाई ती जिल्लाहरुमा पुर्याइएको बताएका हुन् ।
उनले सरकारले लामिछानेमाथि कुनैपनि प्रतिशोध नराखेको दाबी गरे । लामिछानेलाई सरकार नभएर अदालतका आदेशमा हिरासतमा राखिएको उनले बताए ।
‘अदालतले नै थुनामा राखेर छानविन गर्ने आदेश दिएको छ। जुन ठाउँको अदालतले आदेश दियो, त्यहाँ त उम्याउँनै पर्छ। सरकारले चाहेर घुमाएको होइन,’– उनले भने ।
साथै, उनले माओवादी द्वन्द्वका क्रममा कांग्रेसका कयौं कार्यकर्ताले ज्यान गुमाउँदासमेत आफूहरुले पूर्वाग्रह नराखेको बताए । उनले रास्वपामाथि कांग्रेसले पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नै नरहेको बताए । File Photo/RN