काठमाडौं, ३० मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी नेतृत्वविरुद्ध हमला हुँदापनि पार्टी पँक्तिबाट प्रतिरक्षा नभएको भन्दै गुनासो पोखेका छन् । पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्ती खरोरूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको भन्नुहुँदै यसलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएका छन् । उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।
पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा हिजोदेखि सुरु भएको ‘पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला’ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीहरूको ध्यानाकर्षण गरेका थिए ।
स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँदै महासचिव पोखरेलले प्रश्न गरे– ‘पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?’ उनले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताए ।
पार्टी जीवनका समस्याहरू औल्याउँदै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पुग्ने/पुर्याउने तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग सम्वाद गर्नुपर्ने पक्षमा कमी रहेको र अहिले जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने औंल्याए ।
उनले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए ।
उनले मानिसलाई वैचारिक तथा राजनीतिक प्रशिक्षण दिइएन भने अवसरवादी र अराजक हुने बताउँदै पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने काममा तल्ला कमिटीहरूको ध्यानाकर्षण गरे । पार्टी सदस्यहरूलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने बताउँदै माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीहरूले सञ्चालन गर्नुपर्ने बताए ।