Logo

भूपीको शब्द सापटी लिँदै प्रधानमन्त्री ओलीले भने, ‘हल्लैहल्लाको देश….’



  • भ्रष्टाचारजन्य मुद्दामा हदम्याद नराखेकोमा ओली असन्तुष्ट

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य मुद्दामा हदम्याद नराखेर गलत भएको बताएका छन् । आज (आइतबार) ज्यापु दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुपर्ने अडान राखेपनि केही मानिसहरुले हल्लैहल्लामा त्यसको विरोध गरेको र बिगारेरै कानुन पास गर्न बाध्य बनाइएको बताए । अहिले भ्रष्टाचारको उजुरी परेको १५/२० वर्षमा पनि छानविन नभएको, कारबाही नभएको अवस्थामा आफूहरुले पाँच वर्षभित्र निर्क्यौल हुनुपर्ने भनेर अगाडि बढ्दा हल्लैहल्लामा लहैलहैमा कानुन पारित गर्न नदिइएको बताए । उनले कवि भूपी शेरचनको कवितालक्षित गर्दै देश हल्लैहल्लामा चलेको धारणा राखे ।

‘अस्ती एउटा ऐन हामीले बिगारेरै पास गर्नुपर्यो । के बिगार्न पर्यो भने भ्रष्टाचारमा उजुर परेको कहिलेसम्ममा कारबाही चलाउनुपर्ने भन्ने केही छैन । अहिले पनि १०/१५ वर्ष, २० वर्ष अगाडिको उजुरीहरु त्यत्तिकै छन् । हामीले के भन्यौं भने–२० वर्ष अगाडिको उजुरी त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाइ पाएको छ, न कारबाही भएको छ । त्यस्तो हुन हुँदैन, उजुरी परेको पाँच वर्षभित्र त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा गर्यौं । हामीले छोड्ने भनेको होईन, पाँच वर्षभित्र कारबाही टुङ्ग्याएको हुनुपर्छ । हामीले त्यो भनेको पाँच वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । लहैलहै त्यही चल्यो हामीले त्यही पास गर्दियौं । उजुर परेको पाँच वर्षसम्म पनि कारबाही नगर्ने हो भने उजुरी लड्काएर राख्ने । हल्लैहल्लाको देश भएपछि, हल्लैहल्लामा चलेपछि के गर्ने ?’ उनले भने ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदा भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्ने बारेमा व्यापक बहस भएको थियो । अन्ततः भ्रष्टाचारजन्य मुद्दामा हदम्याद नराख्ने सहमतिमा विधेयक अगाडि बढाइएको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्