काठमाडौं, ३० मंसिर । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान संशोधनबारे प्रारम्भिक छलफल सुरु भइसकेको बताएका छन् । आज (आइतबार) चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउन दुई दलबीच संविधान संशोधनबारे छलफल सुरु भएको बताएका हुन् । ‘संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरेका छौं,’– उनले भने ।
गृहमन्त्री लेखकले संविधानको संशोधन दुई वटा राजनीतिक दलहरूले गरेर मात्रै नहुने बताए । उनले संविधान जारी भएको १० वर्षको अनुभवको समीक्षा गरेर सबल र दुर्बल पक्षलाई छनोट गरिने बताए । सबै राजनीतिक दलहरुसँग वार्ता, संवाद, छलफल गरेर सहमतिका साथ संविधान संशोधन गर्ने पनि उनले बताए ।
उनले कांग्रेस–एमालेले चाहेरमात्रै संविधान संशोधन नहुने र आफूहरुले पहलमात्रै अगाडि बढाउने बताए । सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।