काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल समाजवादी मोर्चाको विपक्षमा उत्रिएका छन् । पार्टीको जारी बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल चार कम्युनिष्ट घटक मिलेर बनेको मोर्चाको विपक्षमा उभिएका हुन् ।
नेपालमा रहेका सवै वामपन्थी दलहरु एकतावद्ध हुनुपर्नेमा आफू दृढ रहेको तर, कम्युनिष्ट पार्टीबीच एकता भन्दैमा समाजवादी मोर्चा बनाउने काम सही नरहेको उनको निष्कर्ष छ । उनले समाजवादी मोर्चालाई अपरिपक्व निर्णय भनेका छन् । ‘यी विभाजित बाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केहि समय अघि “समाजवादी मोर्चा” बनाउने प्रयत्न पनि देखाप¥यो । त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने उनको भनाइ छ । खनालले कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्ने बताएका छन् ।
‘समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरुपता हुनैपर्छ । त्यसैले यतिबेला “समाजवादी मोर्चा” बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्क भयो भने फेरि बनाउन नसकिनेभन्ने पनि हुँदैन’ खनालले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
पूर्व प्रधानमन्त्री खनालले पार्टी एकतालाई हल्काफुल्का ढङ्गले हेर्नु नहुने जिकिर गरेका छन् । केही समययता माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा छ । तर,एकीकृत समाजवादीभित्र तत्काल एकता गर्न नहुने र गरेमा पनि नेकपा एमालेसँग नै गर्नुपर्नेमा बलियो मत रहेको छ ।
‘पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपता बिना पार्टी एकीकरण सम्भव हुँदैन’ खनालले भनेका छन् ‘तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रुपले अघि बढ्न सकिन्छ’ ।
पूर्व प्रधानमन्त्री खनालले आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने समेत बताएका छन् । पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुई जना पार्टी सदस्य बनाउनुपर्ने उनको भनाइ छ ।
‘एक वर्षभित्रमा पार्टीको सदस्यता सङ्ख्या दोब्बर भन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको सङ्ख्या कम्तीमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ ।