- रास्वपा आतङ्ककारीको कित्तातर्फ ब्राण्डिङ हुँदै गएको अधिवक्ता अर्यालको आरोप
काठमाडौं, १ पुस । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नै दलका नेताहरुको कारण हिरासतमा राखेर अनुसन्धान गर्नुपरेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा रास्वपाका नेताहरुले सडक आन्दोलन गरेपछि, न्यायाधीश र प्रहरीलाई धम्क्याएपछि रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने दिन आएको बताएका हुन् ।
‘आन्दोलन गरिसकेपछि, न्यायाधीशलाई धम्क्याएपछि, पुलिसलाई धम्क्याएपछि, सहकारी पीडितलाई धम्क्याएपछि, प्रमाण नष्ट गर्ने सम्भावना भइसकेपछि, अनुसन्धान गर्दैजादा अझ गम्भीर कुरा आएपछि, त्यहाँ संगठित अपराध, सम्पत्ति सुद्धीकरण पनि जोडिएपछि अनुसन्धानको क्रममा हिरासतमै राख्नुपर्ने कुरा आयो,’– उनले भने ।
सुशासनको लागि आफूहरुको आगमन भएको दाबी गर्ने रास्पवाले कोर्ष करेक्सन गर्नुपर्ने उनले बताए । संगठित अपराध र सम्पत्ति सुद्धीकरणजस्ता मुद्दा राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय विषय रहेको बताउँदै उनले लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका नेताहरुले गरिरहेको प्रदर्शन र आन्दोलन गलत रहेको बताए । रास्वपाले अनुसन्धानलाई अवरोध गरेको र न्यायालय, न्यायाधीश र प्रहरीलाई समेत धम्की दिएको बताउँदै उनले त्यस्ता दललाई आतङ्ककारीको संज्ञा दिइनुपर्ने बताए ।
‘आन्दोलनबाट रिहा हुन्छ भन्नु जंगली राज्य हुन्छ । संगठित अपराध, सम्पत्ति सुद्धीकरण यो त अन्तर्राष्ट्रिय अपराध हो नि । हामीले अनुसन्धान गरेन, हामीले मुद्दा चलाएन भनेपनि यो अन्तर्राष्ट्रिय निकायले, अन्तर्राष्ट्रिय समुदायले हामीलाई प्रश्न गर्छ । हामीलाई ब्ल्याकलिस्टेड गर्छ । ग्रे जोनमा राख्छ । अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान र पुर्पक्षमा हामीले अवरोध गर्छौं भनेदेखि त्यो पार्टी र देशको इमेज कस्तो होला ?’ प्रश्न गर्दै उनले भने, ‘देश नै ब्ल्याक लिस्टमा पर्छ नि । यो कानुनी कुरा हो । यो अन्तर्राष्ट्रिय कानुनले गाइड गरेको विषय हो । संगठित अपराध र सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा अवरोध गर्ने पार्टी र मान्छेहरुलाई आतङ्कारीको बिल्ला भिराइदिन सक्छन् । जसले अनुसन्धानलाई अवरोध गर्छ, न्यायलयलाई धम्की दिन्छ, पुलिसलाई पनि धम्की दिन्छ भनेदेखि त्यो आतङ्कवादीको कित्ताको यात्रा हुन्छ, त्यो कित्तातर्फ ब्राण्डिङ हुँदै जान्छ ।’