काठमाडौं, १ पुस । अधिवक्ता ओमप्रकाश अर्यालले नेपाली जनताले अहिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई विकल्पको रुपमा हेरेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेनलाई अहिले जनताले प्रधानमन्त्रीको विकल्पको रुपमा हेरिरहेको दाबी गरेका हुन् । ०८४ मा बालेन प्रधानमन्त्रीको विकल्पको रुपमा उदाउने उनको दाबी छ । ‘नेपाली जनताले अहिले बालेन शाहलाई विकल्प देख्यो । बालेन शाहलाई विकल्प देखिसकेपछि अपेक्षा गरे,’– उनले भने ।
केपी शर्मा ओलीको विकल्प बालेन शाह हो ? भन्ने प्रश्नमा उनले अहिले त्यही देखिएको बताए । पार्टीहरुले सर्वसत्तावाद यसरी नै लाद्ने र भर्खरै उम्रिएकाहरुलाई बढ्न र हुर्किन नदिने हो भने अझै ठूलो विद्रोह हुने उनले बताए । दलीय सर्वसत्तावाद लादियो भने त्यसको विकल्प विद्रोह हुने र त्यतिबेला नेपाली जनताले सिंहदरबार नै कब्जा गर्ने उनको चेतावनी छ । जनताको भावना आजको दिनमा बालेन शाहको पक्षमा रहेको उनले दाबी गरे । जनताको विद्रोहको नेतृत्व बालेनले गर्ने सम्भावना पनि प्रवल रहेको उनले सुनाए ।
‘अहिले जसरी दलीय सर्वसत्तावाद देखिएको छ, दलमा लागेका मान्छेबाहेक अरु केही पनि होईनन् भन्ने, अरुको अस्तित्व नै नस्वीकार्ने यिनीहरुको मनोपोली छ, यो धेरै दिन टिक्दैन,’– उनले भने ।
साथै, उनले बालेन शाहको नेतृत्वमा दल खोलिने सम्भावना रहेको पनि बताए । ‘यतिधेरै लोकप्रिय भइसकेको मान्छेले दल खोल्ने सम्बन्धमा सोच्नै पर्ने होला नि उहाँले । जनताले चाहियो कि चाहियो भन्ने उहाँले ड्याम कियर गर्ने हो भने जनता रिसाउलान् नि त ? दल खोल्नुपर्ने बारे सबैको अपेक्षा छ, तर गृहकार्य भने भएको छैन,’– उनले भने । File Photo/RN