काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिलेको सरकार कांग्रेस र एमालेकै कारण ढल्ने दाबी गरेका छन् । उनले आफूहरु अहिले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको स्पष्ट पारे । आज (सोमबार) कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेटेर निस्किएपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूले अध्यक्ष प्रचण्डले भेटेर आउनु र प्रशासनले रविमाथि गरेको व्यवहार कस्तो छ भनेर बुझ्न भनेपछि आज लामिछानेलाई भेटेको सुनाए ।
उनले भने,‘अध्यक्ष प्रचण्डले भेटेर आउनु भनेकोले मैले रविजीलाई भेटेको हुँ । रविजीको स्वास्थ्य अवस्थाबारे बुझ्नु भन्नुभएको थियो । उहाँलाई भित्र बस्दाखेरि प्रशासनले, राज्यले गरेको व्यवहार कस्तो छ भन्ने कुरा बुझेर आउनुहोला भन्नुभएको थियो । म त्यही रिपोर्ट गर्छु । हामी यत्तिकै बस्दैनौं । हामी सदन खुलेपछि प्रतिवाद गर्छौं ।’
उनले रवि लामिछानेलाई चितवनबाट पोखरा लगिँदा राति उठाएर लगिएको भन्दै प्रहरीको उक्त कदमलाई अमानवीय कदमको संज्ञा दिए । उनले भने,‘उहाँलाई चितवनबाट राति उठाएर ल्याईयो, यसप्रकारका अमानवीय र मानवअधिकार उल्लंघनका काम कसैको हकमा पनि हुनुहुँदैन् ।’
उनले सरकारले सुशासन कायम गर्न नसके माओवादी चुप लागेर (मुकदर्शक) भएर हेरेर नबस्ने चेतावनी दिए । उनले भने,‘अहिले हामी भर्खरै हामी त्यता लागेका छैनौं, सरकार परिवर्तनको लागि प्रतिनिधिसभामा गणित पुग्नुपर्छ । अहिले हामी यो सरकार फेरेर अर्को बनाउने प्रक्रियामा हामी छैनौं । उहाँहरुकै कारणले ढल्छ सक्छ । उहाँहरुकै आपसी लेनदेन, हिसाबकिताब, मान्छेहरु सेटिङ गर्ने, विश्वविद्यालयमा सेटिङ गर्ने, व्यूरोक्रेसीमा सेटिङ गर्ने, प्रहरी प्रशासनमा सेटिङ गर्ने, अरु कतिपय कुरामा उहाँहरुको हिसाबकिताब मिलेन भने सरकार ढल्नसक्छ ।’
उनले कांग्रेस र एमालेसँग बहुमत भएपनि कुरा नमिलेको दाबी गरे । उनले भने,‘उहाँहरु ठूलो दलबलसहित चीन जानुभयो । अहिलेपनि तपाईहरुले सोध्नुभयो भने एउटा दलले बीआरआईमा हस्ताक्षर भएको हो भन्छ, अर्को दलले हस्ताक्षर भएको होईन भन्छ । त्यही कुराले पनि के प्रष्ट गर्छ भने सरकार आँफै कन्फ्युजनमा छ । अन्तर्राष्ट्रिय मुद्दाहरुमा कन्फ्युजनमा छ । सुशासनको क्षेत्रमा कन्फ्युजनमा छ । डेलिभरी दिने कुरामा कन्फ्युजनमा छ । यो सरकारले धेरै जनताको पक्षमा काम गर्लाजस्तो महसुस छैन् ।’ उनले अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख रहेको बताए ।
उनले रवि लामिछानेसँग भेट्दा सरकार बनाउने वा ढाल्ने विषयमा केन्द्रित नभएको स्पष्ट पारे । उनले आफूसँगको भेटमा आफूले व्यक्तिगत लोन नलिएको स्पष्ट पारेको सुनाए । लामिछानेले आफूसँग सरकारले प्रतिशोधपूर्ण र पूवाग्रही व्यवहार गरेको भनेर भनेको उनको भनाई छ ।
Video Source: Saptarangi Live TV