Logo

‘एमालेलाई कमजोर बनाउन भ्रामक प्रचार गरियो’



काठमाडौं, २ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र सुशासन दिनका लागि देशका प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाईएको स्पष्ट पारेका छन् । उनले अहिलेको सरकार कसैले चाहेर नढल्ने दाबी गरे । नेपाल निजामती कर्मचारी संगठनको प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकलाई हिजो (सोमबार) सम्बोधन गर्दै महासचिव पोखरेलले दुई दलले नचाहँदासम्म अरु कसैले चाहेर यो सरकार नढल्ने हुँदा कर्मचारीहरूले ढुक्क भएर काम गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको र देशमा सबै सकियो भन्ने खालको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको उनको भनाई थियो । सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै महासचिव पोखरेलले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए । अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने बताउँदै उनले भने– यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदैदिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ ।

पछिल्लो समय एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनका लागि विभिन्न खालका भ्रामक प्रचार गरिएको महासचिव पोखरेलले बताए । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरिरहेको उनको दाबी थियो । नेकपा (एमाले) ठुलो विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको र अब आफूलाई राष्ट्रिय आवश्यकता पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन लागिपरेको उनको भनाई थियो । file photo



प्रतिक्रिया दिनुहोस्