काठमाडौं, ४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् । उनले हिजो सोसल मिडियामा चाहिँदो नचाहिँदो लखेर चर्चित भएका मान्छेहरु अहिले त्यही सोसल मिडियामा त्यसैगरि लेखेको कारणले तल खसिरहेको टिप्पणी गरे ।
आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले उसो भए तपाईंको तथ्यांकमा प्रधानमन्त्रीको लोकप्रियताको ग्राफ घटेको छैन ? भन्ने प्रश्नमा नेता रिमालले भने-“छैन नि ! यत्ति ठूला दुई वटा दलले चलाएको सरकारको प्रधानमन्त्री कताबाट कमजोर हुने ? कमजोरको त कुरै छैन नि ।”
उनले विपक्षी दलका नेता पुष्पकमल दाहालले आफू सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गर्दा सरकार ढलेको भनेर दिएको अभिव्यक्ति नै पत्यारलाग्दो नभएको दाबी गरे । उनले भने-“विपक्षीमा रहेको र प्रधानमन्त्रीबाट गलहत्याएको व्यक्तिले भनेको कुरा पत्याउनुहुन्छ त हामीले ? पीडा त हुन्छ नि मान्छेलाई । प्रधानमन्त्रीबाट हट्या छ, खाईरहेको प्रधानमन्त्री पद गाको छ, त्यो बेलामा मान्छे के के भनेर कराउँछ, त्यो बेलामा हामीले टिप्पणी गर्न मिल्छ र ?”