काठमाडौं, ४ पुष । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कांग्रेस एमाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बीआरआई लिएर पनि दुई दलबीच कुनै समस्या नभएको जिकिर गरे । आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कांग्रेस र एमालेबीच कुनैपनि विषयमा समस्या नरहेको दाबी गरेका हुन् ।
उनले यही गठबन्धनले ०८४ को निर्वाचन गराउने दाबी गरे । उनले अबको डेढ वर्ष प्रधानमन्त्रीमा ओली नै रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने दाबी गरे । रिमालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको जिज्ञासामा भने निम्तो आएपछिमात्रै यात्रा हुने टिप्पणी गरे ।
उनले भने,”भारत यात्राको सन्दर्भमा चाहीँ जहिले निम्ता आउँछ, त्यैले हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणको सम्भावना अनन्त छ । सबै कुरा आवश्यकत्ताले हुने हो । हाम्रो मात्रै हुँदैन यसमा, भारतीय नेताहरुको फुर्सदको कुरा पनि हुन्छ । कुनै विषय प्रधानमन्त्री तहमै छलफल गर्नुपर्ने हो भने भ्रमण हुने हो । भेटघाटको विषयमा त प्रोवेल्म भएन । किनकी पहिले नै भेटिसकेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हामीले न्युयोर्कमै भेट्यौं । आधा घण्टा कुराकानी भएको कुरा तपाईंहरुले न्यूजमै दिनुभएको छ । त्यतिखेर दुई जना प्रधानमन्त्रीबीच नेपाल भारत सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने सहमति भयो ।”