काठमाडौं, ५ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,‘अहिलेको सरकार राम्रोसँग चलिराखेको छ । सरकारका आफ्ना कमिकमजोरीको बारेमा प्रधानमन्त्रीज्यू पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो आशाअनुसारको जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी भैरहेको छैन् ।’
कैलाश कोइरालाद्धारा लिखित ‘शास्त्र’ उपन्यासको विमोचन कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले सरकार तत्काल कुनै फेरबदल नहुने स्पष्ट पारे । उनले भने,‘अहिले सरकारको कुनै फेरबदल हुँदैन् । तर, सरकारले गर्नुपर्ने डेलिभरी, जसरी गर्नुपर्ने हो त्यसरी गर्न सकिरहेको छैन भन्ने बारेमा मलाई के लाग्छ भने यो विषयमा सबैभन्दा बढि सचेत प्रधानमन्त्री आँफै रहनुपर्छ । उहाँ हुनुहुन्छ ।’
सरकारले जसरी कुदेर काम गर्नुपर्ने हो त्यो हुन नसकेको कुरा आफूलाई लागेको थापाको भनाई छ । उनले अहिलेलाई सरकार चेञ्ज हुने कुरा सम्भव नभएको स्पष्ट पारे । उनले रवि लामिछानेबारे सोधिएको प्रश्नमा थापाले अदालतको प्रक्रियामा रहेको विषयमा धेरै बोल्न नहुने धारणा राखे ।
उनले भने,‘अहिले सम्मानित अदालतमा छलफल भएको विषयमा, जुन विषय अदालतमा छ, अदालतको विषय तपाईंको च्यानलमा वा सडकमा कतै गएर मैले बोल्ने वा टिप्पणी गर्ने कुरा न्यायिक निरुपणलाई प्रभावित गर्ने कुरा हुन्छ । तपाईंले मलाई ५० पटक सोध्नुभयो भने पनि मैले ५० पटक दिने उत्तर यस्तै हुन्छ ।’ उनले आफूले अदालतको सबै प्रोसेसमा विश्वास गर्ने स्पष्ट पारे ।