Logo

राजदुत डा. रुपाखेतीले जर्मनी राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र



काठमाडौं, ५ पुष । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले जर्मनका राष्ट्रपति डा. फ्रैंक–वाल्टर स्टाइनमायरसमक्ष ओहोदाको प्रमाणपत्र (Letters of Credence) बुझाएका छन् । राष्ट्रपतिको निवास स्कोलास बेलेभ्यूमा आज आयोजित विशेष समारोहका बीच राजदूत डा. रुपाखेतीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

सो क्रममा राजदूत रुपाखेतीलाई विशेष सम्मान गरिएको थियो । राजदूत रुपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि प्रवाह गर्नुको साथै नेपाल र जर्मनीबीचको द्धिपक्षीय सम्बन्ध थप विस्तार र मजबुद गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

जर्मनी राष्ट्रपतिको जिज्ञासामा राजदूत रुपाखेतीले नेपालको पछिल्लो राजनीतिक विकासक्रम, भूराजनीति र नेपाल सरकारका प्राथमिकताका बारेमा प्रकाश पारेका थिए । नेपालको विकास खासगरी दिगो विकासको लक्ष्य हाँसिल गर्ने सवाल र समावेशी सामाजिक आर्थिक रुपान्तरणमा जर्मनीले पुर्याउँदै आएको सहयोगप्रति राजदूत रुपाखेतीले धन्यवाद व्यक्त गरेको जर्मनस्थित् नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सो अवसरमा जर्मनी राष्ट्रपतिले नेपाल र जर्मनीबीच कायम रहेको विद्यमान सुमधुर सम्बन्धको बारेमा प्रशंसा गरेका थिए । जर्मनी राष्ट्रपतिले हालै (गत जुन १७, २०२४) मा नेपालका राष्ट्रपति पौडेलले गरेको जर्मन भ्रमणको पनि स्मरण गराएका थिए । नेपालका राष्ट्रपतिले नेपाल भ्रमणको लागि दिएको निम्तोप्रति उनले आभार व्यक्त गरेका थिए ।

उक्त समारोहमा जर्मन सरकारका उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो भने नेपाल तर्फबाट राजदूत रुपाखेतीकी धर्मपत्नी डा. इन्दिरा पौड्याल र दूतावासका तृतिय सचिव चुमनसिंह केसीको पनि उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्